काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक काठमाडौंमा शुरु भएको छ । काठमाडाैंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।
दुई दिनसम्म चल्ने माओवादी बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि तत्काल पदाधिकारी नराख्ने पक्षमा प्रचण्ड रहेको बताइएको छ । राष्ट्रिय सम्मेलनबाट पदाधिकारी चयन गर्ने भनेर अहिलेलाई सो एजेण्डा सारिएको छ ।
शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनलाई एकरुपता दिँदै केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको थियो । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण पनि गरिएको थियो ।
प्रतिक्रिया