+
Search

ताजा अपडेट +

पपुलर +

एमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौं- झलनाथ खनाल

4KNationalDaily
२०७८ भाद्र १४, सोमबार १७:२८ बजे

काठमाडौं- नेकपा (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका छन् ।

भारतमा उपचारपछि फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको बताएका हुन् । उनले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुलाई पनि पालना गर्न आग्रह गरे ।

खनालले भने, ‘म उमेरले ७० वर्ष कटिसकेँ । मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन । पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।’

उनले थपे, ‘(एमालेको) नवौं राष्ट्रिय महाधिवेशनमा जुन विधान निर्माण गरियो, त्यसमा सर्वसम्मतिले एउटा मापदण्ड पास गरेका थियौं । त्यो ७० वर्षको मापदण्ड पास गर्ने मुख्य नेता मै हुँ । त्यसमा हामी दृढतापूर्वक अडिनुपर्छ । अन्य नेताहरुलाई पनि त्यो मापदण्डलाई ध्यानमा राख्न आग्रह गर्छु ।’

भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily