+
Search

ताजा अपडेट +

पपुलर +

मनास्लु आरोहणका लागि सामागाउँमा खचाखच आरोही, स्थानीय उत्साहित

4KNationalDaily
२०७८ भाद्र २२, मंगलवार १३:५५ बजे

गाेरखा- क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन् । त्यो हो मनास्लु हिमाल । जसलाई ‘किलर माउण्टेन’पनि भनिन्छ ।

यो हिमालमा मनाङतर्फबाट अहिलेसम्म सफल आरोहण भएको छैन । गोरखाबाट हुने आरोहण पनि उत्तिकै जोखिमयुक्त छ । तथापि वर्षेनि हिमाल चढ्नेको भीडभाड हुन्छ, मनास्लुमा ।

पर्यटन विभागका अनुसार मनास्लु चढ्न सेप्टेम्बरसम्म एक सय आठ आरोहीले अनुमति लिएका छन् । यी आरोहीको १० समूह छ । जसमा ८० पुरुष र १८ महिला छन् । अनुमति लिएकामध्ये अधिकांश विदेशी रहेका छन् । अक्टुबर र अप्रिल आरोहण सिजन हो ।

केही आरोही सामागाउँ पुगिसकेका छन् भने केही उकालो चढिरहेका छन् । धेरैजसो शेर्पा पूर्वतयारीका लागि बेसक्याम्प पुगेका सामागाउँ होटल व्यवस्थापन समितिका अध्यक्ष मिङ्मार लामाले बताए ।

शेर्पा, गाइड, कुक, भरिया लगायतका सहयोगी खच्चडमा सामान बोकर ट्रेकिङ मार्फत सामागाउँ पुगेका छन् भने अधिकांश आरोही हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका हुन् । केही आरोही भने हिँडेरै गएका छन् ।

८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौँ अग्लो हो । मनास्लु बेसक्याम्प सामागाउँबाट दुई घण्टा हिँडेपछि पुगिन्छ । आरोहीको आगमनले स्थानीयमा उत्साह भरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का कार्यक्रम संयोजक अजित तुम्बाहाम्फेले बताए ।

‘तीन दिनमै ७० जना प्रवेश गरिसकेका छन् । हिमाल चढ्ने र पदयात्री छुट्याइएको छैन,’ उनले भने । उनका अनुसार दुई सय हाराहारी आरोहीले आरोहण गर्ने अनुमान छ । विगतमा पनि वर्षेनि २ देखि ३ सयले मनास्लु आरोहण गर्दथे ।

अघिल्लो वर्ष बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल-खलिफाले सफल आरोहण गरेपछि मनास्लुप्रति आरोहीको आकर्षण झनै बढेको छ । कोभिडकै बीच जोखिम मोलेर आरोही बेसक्याम्पतिर उक्लिएका छन् ।

अक्टुबर सिजनका लागि आरोहण अनुमति लिनेबाट १ करोड ४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरिएको विभागले जनाएको छ । गत वर्ष ३ सय जनाले आरोहण अनुमति लिएका थिए ।

कोभिडकै बीच चहलपहल बढेपछि व्यवसायी हर्षित

मनास्लु बेस क्याम्प नजिक एक सय आठ वटा होटल सञ्चालनमा छन् । अहिले होटल पाहुनले भरिन थालेका छन् । सामागाउँ होटल व्यवस्थापन समितिका अध्यक्ष लामाले भने, ‘भरिया र गाइडदेखि शेर्पा खचाखच छन् सामागाउँमा । धेरैपछि पर्यटक देख्न पाइयो । धेरै समयपछि होटलम चहलपहल बढेको छ ।’

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घन्टाको पैदल दुरीमा रहेको छ । आरोहीहरुले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गरेका छन् । आरोहणका क्रममा आरोहीले आफु अनुकुल क्याम्प बनाएर बस्ने गर्दछन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

केहिबर्ष अघिसम्म मनास्लु आरोहण गर्नेमा जापानी नागरिक बढि रहेकोमा पछिल्लो समय चिनिया र युरोपियन राष्ट्रका नागरिकको संख्या बढि रहेको एमक्यापले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily