पोखरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् ।
कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए । विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ ।
‘माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्यौं । तर छोडेर जानुभयो,’ उनले भने, ‘हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो । उहाँले हामीलाई धोका दिनुभयो ।’
एमाले अहिले विशिष्ट स्थितिमा रहेको भन्दै यो संकट टार्न सबैसँग आग्रह गरे । ०५४ सालको पार्टी विभाजनले जस्तै अहिलेको विभाजनले पनि पार्टी समस्यामा फस्ने उनको भनाइ छ । पार्टी एकता कार्यदलमा सदस्य भएर काम गरेका उनले धेरै प्रयास गर्दा पनि पार्टी मिलाउन नसकेको बताए । नेताहरुको झगडाले ठूला घटना हुने भन्दै नेताहरुले नै सुधार्नुपर्ने सुझाव दिए ।
‘विदेशी शक्तिले खेलेर विभाजनमा सघायो । विदेशीहरु पनि खेल्छन् । यसपालि पनि खेले,’ उनले भने, `तर उनीहरुलाई मात्र आरोप लगाउन आवश्यक छैन । हाम्रो आफ्नै दोष छ ।’ उनले विभाजनका कारण पार्टीलाई ५ देखि १० प्रतिशत हाराहारीमात्रै नोक्सान हुने दाबी गरे ।
केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताए । ‘तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं,’ पाण्डेले भने, ‘६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो । तर, हाम्रो प्रयास आंशिक सफल भयो आंशिक असफल भयो ।’
प्रतिक्रिया