काठमाडाैं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ।
२०७२ सालको गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पुर्याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकी काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो।
गत भदौ ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले भदौ मसान्तभित्र पुनर्निर्माणको बाँकी काम सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई दिने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार निजी आवास, एकीकृत बस्ती विकास, सहरी भवन पुनर्निर्माणको बाँकी काम सहरी विकास मन्त्रालय, पुरातत्वसँग सम्बन्धित बाँकी काम पुरातत्व विभाग, शैक्षिक क्षेत्रसँग सम्बन्धित काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघ अन्तरगतको पुल, सडक पुनर्निर्माणको बाँकी काम स्थानीय पूर्वाधार विकास विभागलगायतका सरकारी निकायलाई हस्तान्तरण गरिएको प्राधिकरणकी सहसचिव यमुना प्रधानले जानकारी दिइन्।
प्राधिकरणले पुनर्निर्माणको बाँकी कामलाई सम्पन्न गर्न आवश्यक बजेट र जनशक्तिको पनि व्यवस्था गरिएको स्पष्ट पारेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको बाँकी काम गर्न कुनै समस्या हुन्छ कि भनेर प्राधिकरणको म्याद भने आगामी पौष ९ गतेसम्मका लागि तय गरिएको जानकारी पनि दिए। उनले त्यतिबेलासम्म हस्तान्तरण गरिएको कामहरु सम्पन्न गर्न आवश्यक सहयोग सम्बन्धित निकायलाई गर्ने आफूहरुको जिम्मेवारी रहेको पनि पटकपटक दोहोर्याए।
प्राधिकरणले सबै पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। हाल निर्माणाधिन अवस्थामा रहेका पुरातात्विक तथा ऐतिहासिक महत्वको धरहरा, रानी पोखरी, सिंहदरबार, नारायणहिटी संग्रहालय अन्तरगतको रणोद्धिप दरवारको पुनर्निर्माण, विश्व बैंकसँग सम्बन्धित केही कार्यक्रमहरु पनि बाँकी अवधिमा प्राधिकरण आफैले सम्पन्न गर्नेछ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माणाधिन विशेष खालका आयोजनाहरुको बाँकी काम प्राधिकरण आफैले पौष ९ गते भित्र सम्पन्न गर्ने योजना तय गरिएको पनि स्पष्ट पारे।
प्राधिकरणले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न सरकारी निकायहरुलाई आवश्यक पर्ने नीतिगत तथा कानुनी समस्या तत्काल समाधान गर्ने निर्णय निर्देशक समितिको बैठकले गरेको छ।
प्राधिकरणले नेपालले पुनर्निर्माणको क्षेत्रमा ऐतिहासिक काम गरेको दावी गर्दै त्यो अनुभव अन्तराष्ट्रिय समुदायसँग पनि पुर्याउने योजनाका साथ आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म ‘नेपालको पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने तयारी पनि गरेको छ। पुनर्निर्माणको क्षेत्रमा नेपालले पाएको सफलता अन्य मुलुकका लागि पनि उपयोगी हुने भएकाले सो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने निष्कर्षमा पुगिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।
प्राधिकरणले पुनर्निर्माणको काममा साथ दिने सबै राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, सञ्चारकर्मी सबैप्रति आभार पनि व्यक्त गरेको छ। यता हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुनर्निर्माणको बाँकी काम आफूहरुले समयमै सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गर्दै प्राधिकरणले त्यसका लागि आवश्यक सबै खालको सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
प्राधिकरणले हस्तान्तरण गरेको बाँकी पुनर्निर्माणको काम सम्बन्धित सरकारी निकायले छिट्टै सम्पन्न गर्ने र त्यसका लागि कुनै पनि समस्या भए तत्काल समाधन गर्न सहजीकरण गर्ने पनि स्पष्ट पारेको छ।
प्रतिक्रिया