+
Search

ताजा अपडेट +

पपुलर +

अष्टलक्ष्मीलाई ओलीको प्रश्न : एमालेमा अब माधव नेपाललाई किन ल्याउने, फेरि पार्टी फुटाउन ?

4KNationalDaily
२०७८ भाद्र ३१, बिहीबार १५:५९ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेको उनले बताए ।

काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् ।

नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उनले भनेकी थिइन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’

शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताए । उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’

माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए । प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दे ओलीले अघि भने, ‘जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ ।’ कम्युनिस्टको दुई तिहाईको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र, कसको डुंगा डुब्न लाग्यो ?’

माधव नेपालले घरमा आगाे लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए

ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् । ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन्’, ओलीले भने ।

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे । ‘तपाईहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भने ।

कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्दै ओलीले भने, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको ? प्रचण्डको पछि लागेर के हुन्छ । आउनुस् एकीकृत एमालेमा ।’

प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली

एमाले अध्यक्ष ओलीले‘प्रचण्ड र नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन् । कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको ओलीको भनाइ छ ।

‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्काे पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily