काठमाडाैं- पछिल्लो समय बलिउडमा पारिश्रमिकबारे चर्चा हुन थालेको छ। यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक भने एकपछि अर्का कलाकारले पारिश्रमिको विषय बुलन्द बनाइरहेका छन्।
फिल्ममा नायकको तुलनामा पारिश्रमिक निकै कम हुने भएकाले नायिकाहरुले यसपटक आफ्नो आवाजलाई बुलन्द बनाइरहेका छन्। विशेषत: स्टार कलाकारहरूको फिल्ममा यस्तो हुने गर्छ।
सलमान खान, शाहरूख खान, आमीर खान, अक्षय कुमार, अजय देवगन लगायतको फिल्ममा हिरोइनले पाउने पारिश्रमिक निकै कम हुने गरेको छ।
हिरो बराबर नै काम गर्ने भए पनि हिरोइनको पैसा किन कम? भन्दै बेलाबखतमा भइरहने विद्रोहलाई यस पटक करिना कपुर खानका कारण चर्किएको छ। एक फिल्ममा लागि १२ करोड भारतीय रुपैयाँ माग राखेका कारण करिना निकालिनुपरेपछि पारिश्रमिकसम्बन्धी बहस चर्किएको छ।
करिनाको पारिश्रमिकको विषयमा तास्पी पन्नु, सोनम कपुरले साथ दिएकी छिन्। उनले पनि हिरोको तुलनामा हिरोइनले निकै कम पारिश्रमिक पाउने गरेको भन्दै असन्तुष्टि जनाएकी छन्।
‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ। म परम्पराको खिलाफमा छु। यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन ’ सोनमले एक भारतीय पत्रिकासँग भनेकी छिन्।
एसएस राजमौलीका पिता केवी विज्येन्द्र प्रसादको फिल्म ‘सीता’ मा करिनाले १२ करोड पारिश्रमिक मागेपछि बलिउडमा पारिश्रमिक बहस सृजना भएको हो। तर, सीतामा करिनालाई नराखेर कंगनालाई लिइएको छ।
प्रतिक्रिया