गोरखा- कतारी राजकुमारी शेखा आस्मा अल थानी मनास्लु हिमाल आरोहणका लागि मनास्लु बेसक्याम्प पुगेकी छिन्। मनास्लु बेसक्याम्पमा रहेकी थानीले अबको सेप्टेम्बरको २७ तारिखमा मनास्लु हिमाल आरोहण गर्नेछिन्।
कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाका अनुसार आस्मा अल थानीले यही सेप्टेम्बरको २७ तारिखमा मनास्लु आरोहण गर्ने छिन्। अहिले उनी मनास्लु बेसक्याम्पमा छिन्, मौसममा खराबी नरहे निर्धारित मितिमै आरोहण गर्ने डेविडले जानकारी दिए।
अल थानी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्य सहित अहिले मनास्लु आरोहणको क्रममा नेपालमा छिन्। यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छिन्।
सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी उनी बेस क्याम्पसम्म पुगेकी थिइन तर मौसममा खराबीका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित भएकोले अभियान रद्द गरिएको थियो ।
‘यो वर्ष मेरो लागि चुनौतीपूर्ण रह्यो। मैले विगत कैयौं वर्षदेखिको सपना विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ चढ्ने योजना बनाएकी थिएँ तर यस वर्ष हुन सकेन,’ उनले भनेकी थिइन् ‘यो कुरा स्वीकार्न मलाई केही समय लाग्यो । जित्नुहोस् वा हार्नुहोस्, कहिल्यै असफल हुनुहुन्न । त्यसैले लड्नुहोस् जबसम्म तपाइँले अब म लड्न सक्दिन भन्ने अवस्था आउँदैन ।’
प्रतिक्रिया