काठमाडौं– म्यानचेस्टर युनाइटेडले बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको खेलमा जित हात पारेको छ।
क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी खेलमा गरेको गोलमा युनाइटेडले भिल्लारियलाई २–१ गोलले पराजित गरेको हो। रोनाल्डोले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए।
च्याम्पियन्स लिगमा रोनाल्डोले इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका हुन्। त्यसअघि खेलको ५३औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो।
डान्जुबाले पेनाल्टी बक्समा उपलब्ध गराएको पासमा अल्कासरले गोल गरेका थिए। तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलमा कप्तानी गरिरहेको ब्रुनो फर्नान्डेजको फ्रिकिकमा एलेक्स टेलेसले पेनाल्टी बक्सको एजबाट भलिमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।
च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो। समूह एफमा एट्लान्टाको ४ अंक छ भने योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ। १ अंकसहित भिल्लारियल समूहको पुछारमा छ।
प्रतिक्रिया