+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशका सांसद र पिएलाई ५० लाख बढी दशैं भत्ता !

4KNationalDaily
२०७८ कार्तिक ३, बुधबार १७:५९ बजे

पाेखरा- प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले दशैं भत्ता नपाए पनि गण्डकी प्रदेशका सदस्यहरूले भने दशैं भत्ता पाएका छन् । प्रदेश सांसदहरूलाई बजेटमा उल्लेखित पारिश्रमिक ऐनअनुसार १ महिनाको तलब बराबरको भत्ता पठाइएको हाे ।

प्रदेशका सांसदसँगै उनीहरूका सहयोगी (पिए)लाई समेत १ महिनाको तलब दशैं भत्तास्वरुप पठाइएको छ । प्रदेश सभामा हाल ५९ जना सांसद रहेका छन् । उनीहरूको मासिक तलब ५४ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, सभामुखको तलब ५८ हजार रुपैयाँ हाराहारी रहेको छ ।

सांसद र पिएलाई १ महिना बराबरको तलब अतिरिक्त उपलब्ध गराउँदा ५० लाख रुपैयाँ बढी निकासा हुन्छ । हाल पिएको तलब ३० हजार २ सय रुपैयाँ तोकिएको छ । सचिवालय अन्तर्गत ५ समिति छन् । समितिका संयोजकको भत्ता भने केही बढेर गएको छ । यसैगरी, प्रदेशका मन्त्रीहरूको दशैं भत्ता मुख्यमन्त्रीको कार्यालयबाट पठाइएकाे छ ।

मन्त्रीहरूलाई पनि १ महिनाको तलब बराबर नै भत्ता उपलब्ध गराउने परिपाटी रहेको छ । स्मरणीय छ, अघिल्लो वर्ष नेपाली कांग्रेसका १५ जना सांसदले दशैं भत्ता नलिने निर्णय नै गरेका थिए ।

सचिवालयले सांसदको भत्ता खातामा जम्मा गरिदिएपछि बैठकमार्फत ‘भत्ता नलिने र खातामा आएको भत्ता सरकारलाई नै फिर्ता गर्ने’ निर्णयपश्चात् उक्त भत्ता कोभिड कोषमा जम्मा गराइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily