+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई गगनको जवाफ : प्रधानमन्त्रीको कुर्सीमा बसेपछि अब त थाहा पाउनुभयो नि!

4KNationalDaily
२०७८ कार्तिक ५, शुक्रबार १६:३९ बजे

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।  पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरि हामीले अव अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ ।’ उनले भने, ‘आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको ईकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ।’

कांग्रेसमाथि उद्योग बेचेको आरोप लाग्ने गरेको भन्दै थापाले त्यो सबै नबुझेर गरिएको टिप्पणी भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि चुनावका बेला कांग्रेसले उद्योग कलकारखाना बेच्यो, निजीकरण गर्‍यो भनेर लगाएको आरोप उनी प्रधानमन्त्री बनेपछि खण्डित भएको बताए ।

‘सार्वजनिक संस्थाहरुबारे हामी कहिलेकाही अलमलमा परेको पाउँछौं । कहिले बाँसबारी छाला जुत्ता कारखानाको बारेमा रुन्छौं । कहिले भृकुटी कागजका बारेमा रुन्छौँ । अहिले पनि उद्योग बेचेर खायो भनिन्छ । तर, आजसम्म उद्योग बेचेर खायो भनेर गाली गर्ने कुनै पनि व्यक्तिले प्रधानमन्त्री हुँदै गर्दा वा सरकार चलाउन पाउदै गर्दा फर्केर आएर चुरोट कारखाना खोलेको, जुत्ता कारखाना खोलेको, कागज कारखाना खोलेको कही पाउनुभएको छ ?’ थापाले प्रश्न गरे ।

उनले अघि थपे, ‘किनकि प्रधानमन्त्रीको कुर्सीमा बसेको के थाहा हुन्छ भने सरकारले जुत्ता कारखाना चलाउने होइन रहेछ, चुरोट कारखाना सरकारले चलाउने होइन रहेछ भन्ने त्यहाँ थाहा हुन्छ । १७ करोड पिअर जुत्ता नेपाल फुटवेयर इण्ट्रस्टीमा उत्पादन हुन्छ । उत्पादन क्षमता छ । यो बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएरै सञ्चालनमा आएको हो नि ।’

नेता थापाले विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा र ओज कायम राख्न र नाफामा लैजान आग्रह गरे ।

प्राधिकरणले बनाउनुपर्ने परियोजना अरुलाई दिएकोमा उनले आक्रोश पोखे । विद्युत अपत बढिरहेको भन्दै थापाले प्रसारण लाइन बनाउन सहायता आउँदा विदेशी सेना आउँछ भनेर हल्ला गरेर अवरोध गर्ने काम भएको बताए । विदेशी सहयोग नलिने भए स्वदेशी लगानीमै प्रसारण लाइन निर्माण गर्नुपर्ने उनको जोड छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily