+
Search

ताजा अपडेट +

पपुलर +

फुटको बाटोमा विवेकशील साझा, रविन्द्र मिश्रको चर्चित दस्तावेज पारित

4KNationalDaily
२०७८ कार्तिक ११, बिहीबार १६:४३ बजे

काठमाडौँ– विवेकशील साझा पार्टी फेरि एक पटक फुटको बाटोमा गएको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज केन्द्रीय कमिटी बैठक बोलाएर आफूले प्रस्तुत गरेको ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज दुई तिहाइ बहुमतका साथ पास गरेसँगै उक्त पार्टीमा विवाद छताछुल्ल भएको हो ।

आजको केन्द्रीय कमिटीको भर्चुअल बैठकले अध्यक्ष मिश्रको संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने प्रस्ताव पास गर्‍यो । तर, आजको बैठकलाई विवेकशील साझाका संयोजक मिलन पाण्डे भने गुटको बैठकको संज्ञा दिन्छन् ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर दाबी गरेका छन्।

त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

अध्यक्ष मिश्र पक्षले दस्तावेज पारित गरेसँगै संयोजक मिलन पाण्डे पक्ष भने असन्तुष्ट छ। यसअघि संयोजक पाण्डे पक्षले छुट्टै बैठक बोलाउँदै फरक दस्तावेज पेस गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily