काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशबुँदे सहमति गर्ने क्रममा दुईजना अध्यक्ष रहने सहमति भएको बताएका छन्। दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट राजीनामा दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्।
असार २७ गते दशबुँदे सहमति भएपछि साउन ६ गते अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाललाई पनि अध्यक्ष बनाउने सहमति भएको रावलको भनाइ छ। उक्त सहमति गर्दा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र आफू रहेको उनले उल्लेख गरेका छन्।
भदौ ७ गते अध्यक्ष ओलीकै निवासमा ‘पक्षपात गरिने छैन’ भनेर वाचा गरेको तर अहिले त्यस्तो नदेखिएकाले राजीनामा दिनुपरेको रावलको भनाइ छ। दशबुँदे सहमति, अन्तरपार्टी निर्देशन-१२ लगायतमा पूर्वजिम्मेवारी यथावत रहने उल्लेख भएपनि आफूलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज नदिएर पक्षपात गरेको उनले बताएका छन्।
उनले भनेका छन्, ‘म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम प्रदेश समन्वय कमिटी (जसलाई अपानि–१२ ले स्पष्टरुपमा स्वीकार गरिसकेको छ) को संयजक थिएँ। पछि पार्टी एकीकरण भएको बेला त्यस प्रदेशको इञ्चार्ज थिएँ। मेरो हकमा ती दुवै प्रावधान लागू नहुने तर्क कसरी र केको आधारमा गर्न मिल्छ? त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक–पटक, विशेषतः पार्टीका बैठकहरु र भदौ ७ गते आफ्नै निवासमा, ‘पक्षपात गरिने छैन’ भनी सबैकासामु गर्नुभएको वाचा विपरीत हुन्छ।’
यसैगरी, कसैलाई खुशी बनाउन केन्द्रीय कमिटीमा थप्ने, कसैलाई जिम्मेवारी नदिने जस्ता क्रियाकलाप भइरहेकाले उक्त सहमति कार्यान्वयनमा चासो नरहेको आफूले बुझेको रावलले पत्रमा उल्लेख गरेका छन्।
‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउने तर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिँदा स्थायी कमिटीको बैठकमा गरेको घोषणा अनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेस गरेको छु,’ उनको पत्रमा उल्लेख छ।
यस्तो छ रावलको राजीनामा पत्र :
प्रतिक्रिया