+
Search

ताजा अपडेट +

पपुलर +

डडेल्धुराका एमाले जिल्ला अध्यक्ष तारा जोशी एकीकृत समाजवादीतिर

4KNationalDaily
२०७८ कार्तिक २४, बुधबार १५:२७ बजे

डडेलधुरा- नेकपा एमाले डडेलधुराका तत्कालीन जिल्ला अध्यक्ष तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार भएको एक कार्यक्रमबीच एमालेका तत्कालीन अध्यक्ष जोशीसहितको टीमलाई पार्टीमा स्वागत गरेका हुन् ।

बुधबारको कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हावी भएको र जनभावना विपरीत गएकाले आफूहरू समाजवादीमा समाहित भएको बताए। उनले ५१ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएका घोषणा गरे। १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताए।

सुदूरपश्चिममा एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेलधुरामा नेकपा एमाले विभाजन भएको जोशीसँगै समाजवादीमा प्रवेश गरेका नेताहरुको भनाइ छ। जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउँदलाई अध्यक्ष बनाएका थिए।

केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने माग गर्दै आएका जोशीको मागको सुनुवाइ नभएपछि उनी समाजवादीमा प्रवेश गरेका जनाइएको छ। प्रेस चैतारी नेपाल, अनेम संघ, युवा संघ लगायतका १४ भातृ संगठनका प्रमुखसहित बहुमत सदस्य पनि समाजवादीमा सामेल भएका छन्।

एमालेमा अध्यक्ष ओली र नेपालबीच अन्तरसंघर्ष चलिरहँदा डडेलधुरा अध्यक्ष जोशी नेपाल पक्षमा थिए। एमालेका उपमहासचिव घनश्याम भुसाल निकट जोशी पार्टी विभाजन हुँदा भने पूर्ववत् जिम्मेवारी पाउने अपेक्षामा पार्टीमै रहेका थिए।

तर, अध्यक्ष ओली आफ्नो मागको सुनुवाइ गर्ने पक्षमा नदेखिएपछि जोशीले एकीकृत समाजवादीमा समाहित हुने बाटो रोजेका हुन्। जोशीलाई पार्टीमा स्वागत गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार हेलिकोप्टर चढेर डडेलधुरा पुगेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily