काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय गर्न डिसेम्बर १४ सम्मको ‘समयसिमा’ दिएका छन् ।
शुक्रबार दिउँसो प्रचण्डसँग माओवादी मुख्यालय पेरिस डाँडामा भेट गर्दै लुले एमसीसी परियोजनाबारे निर्णय गर्न सो समयसिमा दिएको हुन्। त्यसको जवाफमा अध्यक्ष प्रचण्डले एमसीसीको सुरुको डकुमेन्ट परिवर्तन भएकोले शंका जन्माएको र त्यसले नेपालमै पनि विवाद सिर्जना गराउन भूमिका खेलेको बताएका थिए ।
‘एमसीसीबारेबारे तपाईंहरुले छिटो निर्णय गर्नुभएन भने हामी फिर्ता लैजान्छौं,’ लुले प्रचण्डलाई भने, ‘अरु देशले मागेका छन्, तपाईंहरुलाई धेरै कुर्न सक्दैनौँ, डिसेम्बर १४ सम्म यसबारे निर्णय भइसकोस्।’
जवाफमा प्रचण्डले एमसीसीको डकुमेन्टमा परिवर्तन गरिएको विषयलाई स्वीकार गर्न गाह्रो परेको बताउँदै राष्ट्रिय सहमति नबनी निर्णय गर्ने नसक्ने बताएका थिए । प्रचण्डले सम्झौताभन्दा पछाडि इन्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडिएको विषयलाई संशोधन नगरेसम्म पास गर्न समस्या हुने बताए ।
‘एमसीसीको सुरुको जुन डकुमेन्ट छ, त्यसमा पछि परिमार्जन गरेर संसदबाट पास गर्ने लगायतका विषय राखिएको रहेछ यसले शंका जन्मायो,’ प्रचण्डले लुलाई भने, ‘त्यो विषयमा तपाईंहरुबाट प्रष्ट धारणा आउनुपर्छ। हामी राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पत्रकार लगायतसँग छलफल गर्छौं र राष्ट्रिय सहमति बनाएर जानकारी दिन्छौं।’
प्रतिक्रिया