काठमाडाैं- नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्।
पूर्वमन्त्रीसमेत रहेका पोखरेलले सोमबार सिरहाको गोलबजारमा माओवादी केन्द्रको वडा अधिवेशन उद्घाटन गर्दै नेपालको हितमा हुनेगरी संशोधन नभएसम्म एमसीसी पास नहुने बताए। ‘नेपालको अहितमा रहेका कतिपय बुँदा परिमार्जन भएपछि मात्रै एमसीसी पारित गर्ने माओवादी केन्द्रको स्पष्ट नीति छ,’ उनले भने।
केपी शर्मा ओलीले मुलुकलाई निरंकुशतातर्फ लैजान खोजेपछि उनलाई सत्ताच्युत गरिएको पोखरेलको भनाई थियो। ‘केपी ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशता लाद्ने निश्चित थियो,’ उनले भने, ‘तीन वर्ष सत्तामा रहँदा ओलीले देखाएका व्यवहारले नै यसको पुष्टि हुन्छ।’
केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीति फेरि लिकमा आएको उनले बताए। ओलीको बोली र व्यवहारमा धेरै भिन्नता रहेको जिकिर गर्दै पोखरेलले भने, ‘जनता सामु एउटा कुरा गर्ने, बालुवाटारमा ‘रअ’का प्रमुखसँग बसेर अरुनै काम गरे। जुन मुलुकको हितमा थिएन।’
प्रतिक्रिया