+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस गण्डकी : देउबा समुहका पाण्डे महामन्त्री र राजनराज पन्त सहमहामन्त्रीमा पराजित

4KNationalDaily
२०७८ मंसिर १९, आईतवार ०८:५३ बजे

गाेरखा- नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन्। हालै आएको मत परिणामअनुसार संस्थापन समूहका उपसभापतिबाहेक पौडेल समूहको प्यानल नै विजयी भएको छ ।

संस्थापनका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका पाका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल भएका छन् । संस्थापनका जोशीले ५ सय २८ मत ल्याउँदा शर्माले ६ सय १२ मत ल्याउँदै विजयी भएका हुन् ।

१ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा र जोशीबीच सुरुदेखि नै निकै झिनो मतान्तर देखिएको थियो । मतगणना अन्तिमतिर शर्माको मतान्तर बढ्दै गएको थियो ।

उपसभापतिमा स्याङ्जाकी पौडेल समूहकी कल्पना तिवारी र संस्थापन प्यानलबाट मेखलाल श्रेष्ठले जितेका छन् । तिवारीले ६ सय २४ र मेखलाल श्रेष्ठले ५ सय ५६ मत ल्याएका छन् । तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन् । संस्थापनबाट म्याग्दीका नेत्र महत र पौडेल पक्षका बागलुङका हरिप्रसाद श्रेष्ठ उपसभापतिमा पराजित भए ।

महामन्त्रीमा पौडेल समूहका गोेरखाका किरणबाबु श्रेष्ठले ५ सय ७३ शीर्ष मत ल्याउँदै विजयी भए भने सोही समूहबाट ५ सय ६७ मत ल्याउँदै विष्ण लामिछानेले जितेका छन् । लामिछाने गण्डकी प्रदेश सभा विधायन समिति सभापतिसमेत हुन् भने श्रेष्ठ गाेरखाका पूर्व जिल्ला सचिव हुन् । संस्थापन पक्षबाट कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डे पराजित भएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका खड्का ११ मतले विजयी महामन्त्री लामिछानेसँग पछि परे । पाण्डे गाेरखाकाे भिमसेन थाापा गाउँपालिका अध्यक्ष हुन्।

सहमहामन्त्रीमा दुबै जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । लमजुङका रमेशकुमार पाण्डेले ६ सय १८, पर्वतका रामचन्द्र जोशीले ५ सय ६९ मत ल्याउँदै जीत हात पारेका छन् । पाण्डे लमजुङको मध्य नेपाल र जोशी कुश्मा नगरपालिकाका मेयर हुन् । संस्थापन समूहबाट गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले उम्मेदवार थिए । पन्त गाेरखा नगरपालिकाका मेयर हुन् । गाेरखाका युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

महिला सहमहामन्त्रीमा पौडेल समूहकै कास्कीकी कोपिला रानाभाट विजयी भएकी छन् । गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी गौतमले ५ सय २४ मत ल्याउँदा रानाभाटले ५ सय ५२ मत ल्याएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily