+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोटमा आँखा अस्पताल

4KNationalDaily
२०७८ पुष २७, मंगलवार १८:४३ बजे

गोरखा- भच्चेकमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल आँखा अस्पताल, अजिरकोट गाँउपालिका, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको सहयोगमा भच्चेकमा आँखा अस्पताल सञ्चालनमा आएकाे हाे ।

जनताको घर दैलोमा आखाँको प्राथमिक उपचार तथा सहुलियत दरमा स्तरीय आँखा जाँच र उपचार गराउने उद्देश्यले गाउँपालिकासहित लमजुङको दूधपोखरी गाउँपालिका क्षेत्र लक्षित गरि उपचार केन्द्र सञ्चालनमा ल्याइएको फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए।

उपचार केन्द्रबाट आँखा सम्बन्धी सबै रोगको प्राथमिक परीक्षण गरिने, मोतियाविन्दुको परीक्षण तथा आँखारोग विशेषज्ञद्वारा शल्यक्रिया, चस्माको पावर जाँच तथा आवश्यक चस्मा उपलब्ध गर्ने गरी सेवा सञ्चालन भएको उनले बताए। अस्पतालका लागि आँखा अस्पतालले २ जना कर्मचारीसमेत उपलब्ध गराएकाे छ ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिका र ७० वर्षभन्दा माथिका वृृद्धवृद्धालाई बहिरंग सेवा निःशुल्क गरिनुका साथै भिजन सेन्टरबाट रिफर भएका बिरामीलाई विशेष छूटमा उपचार गराउने लक्ष्य लिइएको उनको भनाइ छ। यस उपचार केन्द्रमा आँखा जाँचपछि थप उपचार आवश्यक परेमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर पठाउने उनले बताए। मुटु फाउण्डेशनले अजिरकोटसहित देशका विभिन्न स्थानमा सामाजिक विकासका काम गर्दै आएको छ।

अजिरकाेट भच्चेक स्वास्थ्य चाैकीमा आँखा अस्पताल सुरू भएकाे हाे । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा अस्पताल निर्माणका क्रममा अजिरकाेटमा पाँच शैय्याकाे अस्पताल बनाउने निर्यण गरेकाे थियाे ।

सरकारले जिल्लाका एघार स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि केन्द्र बजेट समेत पठाई सकेकाे छ। अजिरकाेटका लागि ७ करोड ११ लाख ९८ हजार बजेट पठाएकाे हाे । पाँच शैय्याकाे आधारभूत अस्पताल, आयुवेर्दिक अस्पतालसहित सुशीला स्मृति प्रतिष्ठानले स्वास्थ्य चौकिलाई आधुनिक प्रविधि सहितको डिजिटल एक्स-रे मेसिन समेत उपलब्ध गराएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily