+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीलाई पदाधिकारी चयनमै सकस, केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

4KNationalDaily
२०७८ माघ २७, बिहीबार १७:१३ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

कोरोना महामारीका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो ।

बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको नेताहरुको भनाइ थियो ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बैठक स्थगित भएको बताए। उनले कोभिड जोखिम अझै कम भइनसकेकाले बैठक स्थगित गरिएको बताए

सरकारले पनि अझै २५ जनाभन्दा धेरै मानिसलाई एकै ठाउँ भेला हुन निषेध गरिरहेको कुरालाई पनि मध्यनजर गर्दै बैठक स्थगित गरिएको ढकालले बताए।

‘भोलि बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ। कोभिड महामारीका कारण सरकारले धेरै मानिस भेला गरेर कार्यक्रम नगर्न सुझाव दिएकाले यो निर्णय लिइएको हो’, उनले भने, ‘तर पछिल्लो समय माओवादीकै नेताहरुलाई कोभिड भएको भने जानकारी छैन।’

माओवादीले पुस ११ देखि १८ सम्म गरेको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily