काठमाडाैं- नेकपा (एमाले)का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीविरुद्ध आक्रोश पोखेका छन्।
उनले संगठन विभाग प्रमुख अधिकारीले पार्टी सचिवालयको बैठकले जनसंगठन संयोजक संयन्त्रले कार्यविधि पारित गरिसकेको अवस्थामा त्योसँग बाझिने गरी कमिटी र पदाधिकारी बनाउन निर्देशन दिएको आरोप लगाएका छन्।
आफू इन्चार्ज रहेको युवा संघ नेपालमा हस्तक्षेप गरेको भन्दै बस्नेतको आक्रोश आएको हो।
‘पार्टीको सचिवालयको बैठकले जनसंगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईँलाई कसले दियो?’, बस्नेतले सोधेका छन्, ‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो?’
अधिकारीले संगठन इन्चार्ज आफू र अध्यक्ष किरण पौडेलसँग पनि सल्लाह नगरी विभागको आदेशमा आदेश दिएको भन्दै प्रश्न उठाएका छन्।
‘संगठनको इन्चार्ज, अध्यक्षसँग समेत परामर्श नगरी संगठनकोबारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो?’, उनले भनेका छन्, ‘एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नुभयो?’
बस्नेतले अधिकारीलाई एमाले संगठन विभाग प्रमुखबाट हटाउन पनि माग गरेका छन्। ‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ, तपाईँ संगठन विभाग चलाउन सक्ने ब्यक्ति होइन’, उनले आरोप लगाउँदै भनेका छन्, ‘तसर्थ कमरेड खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु।’
बस्नेतको निर्देशनमा यसअघि युवा संघका उपाध्यक्ष रोशन बस्नेतसहितले एकपक्षीय रुपमा निर्णय गराएको भन्दै इन्चार्ज बस्नेतविरुद्ध समानान्तर आयोजक कमिटी बनाउने चेतावनी दिएका थिए।
उनीहरुले बस्नेतविरुद्ध महासचिव शंकर पोखरेलदेखि अध्यक्ष केपी शर्मा ओलीसम्म उजुरी हालेका थिए। त्यही आधारमा संगठन विभाग प्रमुख अधिकारीले युवा संघभित्रको विवाद मिलाउने प्रयास गर्दा बस्नेत आक्रोशित भएका हुन्।
प्रतिक्रिया