काठमाडौं– सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।
एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउन बसेको गठबन्धन बैठकलाई चासो साथ हेरिएको छ । प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ । माओवादीले एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।
बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको निर्णायक बैठक बस्ने सहमति जुटेको थियो ।
गठबन्धन बैठकअघि माओवादी अध्यक्ष प्रचण्ड र एकृकीत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने बताएका थिए ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने एमसीसी अनुमोदनमा गठबन्धनभित्र असहयोग भए गठबन्धनको विकल्प खोज्नुपर्ने पक्षमा छ । माओवादी, एकीकृत समाजवादी, जसपा एमसीसी यथाअवस्थामा पारित गर्न नहुने पक्षमा छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा छ।
उता कांग्रेस सभापति देउवाले आफ्ना प्रतिनिधिका रुपमा नेता डा. मिनेन्द्र रिजाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पठाएका थिए।
बाबुरामदेखि गगन थापासम्म सहभागी
कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौलालगायत बैठकमा छन् ।
माओवादीबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बसेका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता झलनाथ खनाल छन् । यस्तै जसपाबाट डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठको सहभागिता छ । काठमाडौंबाहिर रहेका जसपा अध्यक्ष उपेन्द्र यादव वैठकमा छैनन् ।
सत्तारुढ गठवन्धनको राष्ट्रिय जनमोर्चाको भने प्रतिनिधित्व छैन । सो पार्टीकी सांसद दुर्गा पौडेलले आफूहरुलाई बैठकको खबर नआएको बताएकी छन् ।
प्रतिक्रिया