काठमाडौं– नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गरिएकोप्रति आपत्ति जनाएका छन्।
एमसीसी सम्झौता देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषय भएको उल्लेख गर्दै महराले दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहदै जवर्जस्ती प्रतिनिधि सभामा टेबल गरिनु गम्भीर आपत्तिजनक भएको बताएका छन्।
पूर्व सभामुख समेत रहेका महराले आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता संसद्मा टेबल भएको घटनाप्रति आफ्नो पार्टी (माओवादी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
‘सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसद्मा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ,’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठन सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबरजस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति हामो गम्भीर आपत्ति छ।’
एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गरेको हस्तक्षेपको पनि महराले निन्दा गरेका छन्। एमसीसी सम्झौता विरुद्धको प्रदर्शनका क्रममा घाइते भएकाको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न पनि महराले सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया