काठमाडौं– एपीएफ क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले लिगको अन्तिम खेलमा पनि जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मछिन्द्रलाई जित दिलाउन अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे ।
एपीएफका लागि प्रलिप लामाले एक गोल गरे । प्रदिपले गोल गर्दै मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको १ सय ८४ मिनेटको क्लिनसिट तोडेका थिए ।
विशालले पहिलो खेलमा एनआरटी विरुद्ध खेलको ५४औं मिनेटमा गोल खाएका थिए । लिगमा सबैभन्दा धेरै क्लिनसिट राख्ने उनी एक मात्र गोलकिपर हुन् ।
मछिन्द्रलाई अग्रता दिलाउन खेलको ४२औं मिनेटमा अभिषेकले गोल गरेका थिए । उनले एन्ड्रेज चोङ्केउले निकालेको थ्रु बललाई पोष्टको दिशा दिलाएका थिए ।
त्यस्तै, एपीएफले तीन जित, बराबरी र चार हार सहित १५ अंक जोडेर आठौं स्थानमा रहँदै लिग सकेको छ । च्याम्पियन बनेसँगै मछिन्द्रले ७५ लाख प्रप्त गरेको छ । दोस्रो स्थानको आर्मीले ५० लाख र तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।
तालिकाको पुछारमा रहेका दुई टोली च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।
प्रतिक्रिया