काठमाडौं– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा विजयी सुरुवात गरेको छ। राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको हो।
२ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनमा समेटियो। हैदराबादका लागि एडेन माक्ररमले ४१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५७ रनको अविजित पारी खेले। अलराउन्डर वासिन्टन सुन्दरले १४ बलमा ५ चौका र २ छक्कासहित ४० रनको आक्रामक पारी खेलेपनि जितका लागि पर्याप्त भएन।
हैदराबादका ओपनर तथा कप्तान केन विलियम्सन दोस्रो ओभरको चौथो बलमा २ रनमा क्याच भए। तीव्र गतिका बलर प्रसिद्ध कृष्णको बलमा विलियम्सन फष्ट स्लिपमा देवदत्त पाडिक्कलबाट समातिन पुगे। कृष्णले राहुल त्रिपाठ्ठीलाई शून्यमा विकेटकिपर सन्जु स्यामसनबाट क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाए।
९ बल खेलेका विकेटकिपर निकोलस पुरन ट्रेन्ट बोल्टको बलमा शून्यमा एलबीडब्लू आउट भएपछि हैदराबाद सुरुवातमै समस्यामा परेको थियो। ओपनर अभिषेक शर्मा १९ बलमा १ चौकासहित ९ रनमा स्पिनर युजभेन्द्र चहलको बलमा शिम्रन हेटमायरबाट क्याच आउट भए।
अब्दुल सामद ४ र रोमारियो शेफर्ड २४ रनमा आउट हुन पुगे । यी दुबैलाई खेलाडीलाई चहलले पेभेलिएन फर्काएका थिए । शेफर्डले १८ बलमा २ छक्का प्रहार गरे।
राजस्थानका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए।
त्यसअघि क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। राजस्थानका कप्तान सन्जु स्यामसनले २७ बलमा सर्वाधिक ५५ रनको योगदान दिए। देवदत्त पाडिक्कलले २९ बलमा ४१ रन बनाए।
ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। जैसवाल रोमारियो शेफर्डको बलमा एडेन माक्ररमबाट २० रनमा क्याच आउट भए। उमरन मलिकको बलमा बटलर कट बिहाइन्ड ३५ रनमा विकेटकिपर निकोलस पुरनबाट समातिए।
तल्लोक्रममा शिम्रन हेटमारले १३ बलमा ३३ रनको आक्रामक इनिङ खेले। उनी टि नटराजनको बलमा बोल्ड आउट भए । रियान पराग १२ रनमा आउट भए।
हैदराबादका उमरन मलिकले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए। टि नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। भुवनेश्वर कुमार र रोमारियो शेफर्डको नाममा १–१ विकेट रह्यो। राजस्थानले अव शनिबार मुम्बई इन्डियन्ससँग खेल्नेछ भने हैदराबादले सोमबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।
प्रतिक्रिया