काठमाडौँ- बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्।
आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।
पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ । अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ।
त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन्। स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।
नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ । यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।
बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ । शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो।
तनहुँ अदालतबाट भएको आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन्। उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाइसकेको छ।
प्रतिक्रिया