काठमाडौँ- गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आरबीबी– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा परुषतर्फ विजयी सुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सुरु भएको प्रतियोगिता पुरुषतर्फ गण्डकी प्रदेशले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पारजित गरेको हो। गण्डकीले ढोरपाटनलाई २५–१६, २३–२५, २५–१९, २६–२४ ले पराजित गर्यो।
पुलिस क्लबले भने गलकोट स्पोर्टु् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पाखा लगाउँदै विजयी सुरुवात गरेको हो।
पुरुषतर्फकै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको छ। एकपक्षिय खेलमा आर्मीले एपीएफलाई २५–२३, २५–१८, २५–२२ ले पराजित गर्यो।
आगामी २४ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लब सहभागी छ।
यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गलकोट स्पोर्टु् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लब सहभागी छन्।
प्रतियोगिताको विजेताले ६ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख ५० हजार तथा चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीले ३५ हजार, तथा उत्कृष्ट सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले भने जनही १५ हजार रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया