+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा [पूर्णपाठ]

4KNationalDaily
२०७९ जेष्ठ २४, मंगलवार २०:५८ बजे

पोखरा- गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।

मंगलबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका २८६ बुँदामा केही महत्वाकांक्षी र केही पुरानै योजना राखिएका छन् ।

कार्यक्रम घोषणा भएको करिब साढे ४ वर्षपछि अहिले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको अन्तिम नीति तथा कार्यक्रमले सबै जनताको पहुँचमा खानेपानी र बजिुली पुग्न अझै २ वर्ष लाग्ने बताएको हो ।

नीति तथा कार्यक्रममा अबको २ वर्षभित्र खानेपानीको पहुँचमा सबै जनातालाई पुर्‍याउने र २०८० भित्र उज्यालो प्रदेश घोषणा गर्ने बताइएको छ । यसपटक सरकारले पूर्वाधार विकासमा कम र खुद्रे कार्यक्रमलाई बढी प्राथमिकतामा राखेको छ ।

गण्डकी प्रदेशले यसै वर्षदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी मृगौला प्रत्यारोपण सेवा प्रदेशमा नै आरम्भ गर्ने घोषणा गरेको छ । प्रतिष्ठानसँगकै सहकार्यमा गण्डकी प्रदेशमा ५० शय्याको मुटु रोग अस्पताल स्थापना गरिने कार्यक्रम सरकारले ल्याएको छ ।

प्रदेशमा क्रमशः विशेषज्ञ र विशिष्टीकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर र मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच पु¥याउने सरकारले लक्ष्य लिएको छ । यो पहिलो नीति तथा कार्यक्रमबाटै उठाइँदै आएको भए पनि अहिलेसम्म सुरुआत हुन सकेको छैन ।

गण्डकी विश्वविद्यालयमा चिकित्सा विज्ञान र सूचना प्रविधिसम्बन्धी विषयको अध्ययन–अध्यापन गराउने र प्रदेशमा ५०० शय्याको शिक्षण अस्पताल स्थापनाको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गर्ने सरकारको नीति छ ।

गण्डकी प्रदेश जाऔं : गुणस्तरीय शिक्षा पाऔं भन्ने नारालाई मूर्त रूप दिन शिक्षा सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने सरकारको कार्यक्रम छ ।

विदेशबाट फर्केका तथा स्वदेशभित्र हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीको अवसरबाट वञ्चित युवालाई नवीन उद्यम मार्फत् स्वरोजगार बनाउन सीप, स्रोत र साधन उपलब्ध गराई गरि खाने अभियान सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ ।

गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।

कृषि क्षेत्रमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । महिलाको रोजगारी कृषिको जिम्मेवारी भन्ने नारासहित कृषि उत्थानका लागि बाँझो जमिन तथा अन्य जमिनमा महिलाले सामूहिक खेती गरेमा उनीहरूले गर्ने उत्पादनको आधारमा अनुदान दिने सरकारले घोषणा गरेको छ ।

प्रदेश सरकारको लगानी साझेदारीमा गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल सरकारसँग पहल गर्ने बताएको छ ।

नेपाल सरकारसँगको सहकार्यमा राष्ट्रिय र प्रादेशिक लोकमार्गबाट स्थानीय तहको केन्द्र जोड्न बाँकी रहेका गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका र मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको केन्द्रसम्म सडकको पहुँच पु¥याउन प्राथमिकता दिइने सरकारले जनाएको छ ।

प्रदेशभित्रका महत्त्वपूर्ण सडक र पुल नियमित मर्मत गरी बाह्रै महिना यातायात सञ्चालन योग्य बनाउन कार्यविधि तयार गरी मर्मत सम्भार कोषको स्थापना गर्ने सरकारको कार्यक्रम छ ।

महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचारको प्रबन्ध गरिएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/गण्डकी-प्रदेश-आब-२०७९।८०-को-नीति-तथा-कार्यक्रम-.pdf” title=”गण्डकी प्रदेश आब २०७९।८० को नीति तथा कार्यक्रम”]

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily