+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश सरकार : गठबन्धनका सांसदलाई ५ करोड, एमालेलाई ३० करोड !

4KNationalDaily
२०७९ जेष्ठ ३१, मंगलवार १०:२६ बजे

पाेखरा- गण्डकी प्रदेशले असार १ गते बजेट ल्याउदै छ । कार्यकालको अन्तिममा आएर सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत गठबन्धनका सांसदलाई ५ करोड र प्रमुख प्रतिपक्ष दलका सांसदलाई ३० करोड दिन लागेको चर्चा छ ।

चालु आर्थिक वर्षका लागि ३० अर्बको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४० अर्बभित्र बजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

गठबन्धनका सांसदलाई ५ करोडका दरले योजना बाँड्ने तयारी भइरहेको ऊर्जामन्त्री हरिशरण आचार्यको आरोप छ । गठबन्धनका ३१ सांसदसँग ५ करोडका दरले योजना मागेर बजेटमा समावेश गरिएको अन्य सांसदहरुले पनि बताएका छन् ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि २ करोड रुपैयाँ बर्सेनी बजेट विनियोजन गर्दै आएको छ । निर्वाचन क्षेत्रका सांसदका योजनामा रकम बाँड्ने गरी निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत बर्सेनी गण्डकीका ३६ निर्वाचन क्षेत्रमा ७२ करोड रुपैयाँ विनियोजन हुँदै आएको छ ।

तर यसपटक गठबन्धनका सांसदलाई ५ करोड रुपैयाँका दरले योजना माग गरेर बजेटमा समावेश गर्ने प्रयास चलिरहेको छ । गठबन्धनका ३१ सांसदलाई ५ करोडका दरले कुल १ अर्ब ५ करोडको योजना समावेश गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेका २६ सांसदलाई भने कुल ३० करोड रुपैयाँमात्र समावेश गरिएको मन्त्रीहरुले नै बताएका छन् ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री कुमार खड्का भने यसरी रकम नतोकिएको दाबी गर्छन् । ‘सांसदहरुसँग योजना माग गरेर बजेटमा समावेश गरियो होला तर यतिकै दरले भन्ने नहोला । खासगरी मुख्यमन्त्री र अर्थमन्त्री मिलेर बजेट निर्माण गरिरहनुभएको छ,’ प्रवक्ता खड्काले भने, ‘मुख्यमन्त्री पोखरेल र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल गरेर अघिल्लो योजनामा कटौती भएका योजनामध्ये प्रति सांसद २/२ वटा योजना समावेस गर्ने छलफल भएको सुनिएको थियो ।’

सरकारका मन्त्री आचार्यले भने मुख्यमन्त्री र अर्थमन्त्रीले बजेट निर्माणको विधि र प्रक्रिया नै मिचेर सांसदका खल्तीबाट योजना हाल्ने काम भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily