काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने भएको हो।
पेट्रोलसँगै अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ।
निगमका अनुसार हवाइ इन्धन (आन्तरिक)तर्फ १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, हवाइ इन्धन (बाह्य) तर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार छ सय ४५ कायम भएको छ।
एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल लिटरमा १३.५८ पैसा, डिजेल १३.९५ पैसा, मट्टितेल ४३.०६ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा १३.६१ रुपैयाँ नाफा, बाह्यमा ५६.६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१.१४ रुपैयाँ घाटा रहेको छ।
यति मूल्य बढ्दा पनि मासिक रुपमा चार अर्ब ७० करोड घाटा रहेको निगमको दाबी छ। असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको निगमले दाबी गरेको छ।
एलपी ग्यासतर्फ मासिक २ अर्ब २८ करोड घाटा रहने निगमले जनाएको छ। यसअनुसार निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम २२ अर्ब बक्यौता पुग्ने देखिएको जनाएको छ।
आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले उक्त मूल्यवृद्धि गरेको हो। इन्डियन आयल कर्पोरेसनले निगमलाई चार दिनअघि (१६ जुन २०२२) मा नयाँ मूल्यसूची पठाएको थियो। सोअनुसार इन्धनको लागत मूल्य बढेको थियो।
प्रतिक्रिया