+
Search

ताजा अपडेट +

पपुलर +

अब बालेनको नजर शिक्षामा गरिने ब्यापार तिर

4KNationalDaily
२०७९ भाद्र २६, आईतवार १६:४९ बजे

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन ।

बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरे । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो ।

महानगरपालिकासँंग भगिनी सम्बन्ध भएका विराटनगर, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमढरगढी नपा र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी लगायत ७५ जनाको समूहले शनिबार भक्तपुर पुगेको हो।

टोलीले दरबार क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेको छ।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आएको उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. २ व्यासीस्थित नगरपालिका सभाकक्षमा उनीहरुको स्वागतमा एक कार्यक्रम आयोजना गर्‍यो।

उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अंकित परम्परागत खादा र महिला अतिथिहरुलाई सुर्के थैली उपहारसहित स्वागत गरे।

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउँदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताए।

उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देखेको १ सय वर्षपछिको भक्तपुरको आधारहरु निर्माण गरिरहेको पनि सो अवसरमा बताए। जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउँदै उनले जनतासँग नजिकमा बसेर काम गर्ने स्थानीय सरकारहरुले निर्वाचनको समयमा दिएको वचन अनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए।

‘आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरुको पुनः निर्माण र जीर्णोद्धार भइरहेका छन्’ उनले भने।

उनले जुनसुकै काम ठेक्कामार्फत् गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउँदै निर्वाचन विचारको प्रतिस्पर्धा हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा हुनु बिडम्बनाको विषय भएको बताए।

यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतिकरण देखाउँदै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्न लायक सहरको रुपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताइन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने धारणा राखे।

विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा विराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा-नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे।

मूर्त र अमूर्त सम्पदाहरु काठमाडौँ उपत्यकाको विशेषता नै रहेको बताउँदै उनले भक्तपुर र विराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताए।

साे कार्यक्रममा उपप्रमुखकोतर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि आआफनो धारणा राखेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily