+
Search

ताजा अपडेट +

पपुलर +

संगीतकार श्रेष्ठको ‘फरैना’ उपन्यास विमोचन

4KNationalDaily
२०७९ भाद्र २८, मंगलवार १०:४१ बजे

काठमाडौं- नेपाली आधुनिक सुगम संगीतको क्षेत्रमा प्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठ उपन्यासकारमा रुपमा आउनुभएको छ । उहाँको पहिलो उपन्यास कृति ‘फरैना’ शुक्रबार काठमाडौंमा विमोचन गरिएको छ ।

महानायक राजेश हमाल, प्रा.डा. कृष्णहरि बराल, डा. भीमार्जुन आचार्य र नेतृ शान्ता चौधरीले सामूहिकरूपमा उपन्यास विमोचन गर्नुभएको हो ।

संगीत, साहित्य र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको विमोचन समारोहमा सांसद चौधरीले कम्लरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गर्नुभयो ।

वक्ता डा. कृष्णहरि बरालले प्रकृतिको सुन्दर चित्रणसहित मानवीय संवेदनालाई यस उपन्यासले जबर्जस्त प्रस्तुत गरेको बताउँदै गायक र सङ्गीतकारका रुपमा उचाइमा पुगेको सन्तोषको व्यक्तित्वमा अब उपन्यासकार जोडिएकोमा बधाई तथा शुभकामना दिनुभयो ।

डा. भीमार्जुन आचार्यले बनोट र बुनोटका हिसाबले हेर्दा अत्यन्त माझिएको अभिव्यक्तिले फरैना पठनीय बनेको टिप्पणी गर्नुभयो ।

फरैना पूर्ण अध्ययन गरेर बोल्दै महानायक राजेश हमालले यस कृतिमा संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमूना यस उपन्यासको विशेषता रहेको बताउनुभयो ।

उपन्यासकार श्रेष्ठले आफ्नो मानसपटलमा लामो समयदेखि सलबलाएको गम्भीर प्रश्नले आख्यानको यो आकार ग्रहण गरेको बताउनुभयो । ‘यसलाई मैले आफ्नो संवेदनाको प्रतिरूप मानेको छु’– उहाँले भन्नुभयो ।

थारु समुदायमा वर्षौंसम्म कुप्रथाको रुपमा रहेको कम्लरी, त्यसभित्रका दुःख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तु हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily