+
Search

ताजा अपडेट +

पपुलर +

१४४ सांसदसहितको यस्तो बन्न सक्छ बालकोट गठबन्धन !

4KNationalDaily
२०७९ पुष १०, आईतवार १४:३१ बजे

काठमाडौं– सत्ता गठबन्धनमा कुरा मिल्न नसकेपछि सरकार गठनका लागि अर्को नयाँ चरणको समीकरण तयारी भएको छ ।

त्यसका लागि अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल सुरु भएको छ ।

चार दलका शीर्ष नेताको बैठक सुरु भएको हो । जसमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

राष्ट्रपतिसहित सबै निकायमा हुने नियुक्ति र चुनावी प्रक्रिया पहिले नै बाँडफाँटमा सहमति गर्ने तयारीस्वरुप छलफल सुरु भएको हो ।

तर यो गठबन्धनमा भने नेकपा एकीकृत समाजवादी भने सहभागी हुने सम्भावना तत्कालका लागि कम भएको स्रोत बताउँछ । चार दलबीच सहमति कायम भएमा बहुमत पुग्ने देखिन्छ ।

कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।

एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ । १४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily