+
Search

ताजा अपडेट +

पपुलर +

क्रिकेटका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

4KNationalDaily
२०७९ फाल्गुन ११, बिहीबार १६:०३ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’

क्रिकेटको कारण देशकै गौरव र प्रतिष्ठा बढेको भन्दै उनले खोलाडीहरूलाई प्रेरणास्वरुप सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरे ।

No description available.

‘पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।’

छोटो समयमै नेपाली क्रिकेटले पाएको सफलताले आफूलाई पनि राजनीतिमा प्रेरणा दिएको उनको भनाइ छ ।

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग-२ को त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २-२ खेलमा विजय हात पारेको हो । नेपालले लगातार चार खेलमा जीत निकालेको पनि यो पहिलो हो ।

नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।

No description available.

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अर्को हप्ता यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि यूएई जाँदैछ । नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ ।

नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुवात गर्नेछ । फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । त्यस्तै फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम (मौसम) ढकाल रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily