काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्ल र भीम सार्कीले सतकीय साझेदारी गरेपछि नेपाल ६ विकेटले विजयी भएको हो।
मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा पूरै ५० ओभरमा २३५ रन बनाएको थियो। मलेसियाले दिएको मध्यम स्कोर पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै जित निकालेको हो।
नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध पराजय भोग्नु परेको छैन। यसअघि मलेसिया र नेपाल सन् २०१८ मा एसिया कप छनोटमा भेट भएका थिए।
त्यसबेला मलेसियालाई उसकै घरमा नेपालले १९ रनले पराजित गरेको थियो। अहिले नेपालमा भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी छन्।
सहभागीहरुलाई दुई समूहमा राखिएको छ। समूह ‘ए’ मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्।
उता समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएईलाई राखिएको छ। यी दुई समूहका शीर्ष दुई टिमबीच सेमिफाइनलमा भेट हुनेछ।
फाइनलमा विजयी हुने राष्ट्र एसिया कपमा जाने छ। यो प्रतियोगिता यसै वर्ष सेप्टेम्बरमा हुने छ। समूहका शीर्ष तीनका टोली एसीसी ईमर्जिङ कपमा जाने छन्।
प्रतिक्रिया