+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री पाण्डेको कर्मचारीलाई निर्देशन–जनसेवा छिटो बनाउनुहोस्

4KNationalDaily
२०८० जेष्ठ ३, बुधबार २०:४९ बजे

गाेरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बुधबार गोरखा पुगेका पाण्डेले कार्यालय प्रमुखहरूलाई भेटेर नागरिकले एउटै कामका लागि पटकपटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । व्यवस्थाप्रति नै वितृष्णा हुनसक्छ ।’

मुख्यमन्त्री पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । प्रदेश सरकारले दैनिक सेवा प्रवाह झण्झट रहित बनाउन क्याबिनेटबाट निर्णय गरिसकेको उनको भनाई छ ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी व्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् । सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ ।

उनले संरक्षण सहितको विकास र विकास मार्फत राज्य सञ्चालनको माध्यम निर्माण गर्नुपर्ने बताए । ‘हामीले आम्दानीको दायरा बढाउन सकेनौं भने सामाजिक उत्तरदायित्व बहन गर्न र जनताको अपेक्षा पुरा गर्न सक्दैनौं । त्यसैले विकास पनि गर्नुपर्छ । गरिएको विकासबाट राज्यले केही प्राप्त पनि गर्न सक्नुपर्छ,’ उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने भएकोले योजना छनोट गर्दा ख्याल गर्न उनको आग्रह छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily