+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोट गाउँपालिकालाई बाबुरामको सुझाव : शिक्षा, कृषि र मुख्य सडकलाई प्राथमिकता दिनु

4KNationalDaily
२०८० जेष्ठ ३१, बुधबार १५:२२ बजे

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अजिरकोट गाउँपालिकाले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटमा सुझाव दिएका छन् ।

दूधपोखरी मार्ग अवलोकन गर्न आएका उनले मंगलबार गाउँपालिका कार्यालयमा स्रोत साधनलाई परिचालन गर्दै शिक्षा र कृषिलाई प्राथमिकता दिन सुझाव दिए ।

गाउँपालिकाले असार ५ मा नीति तथा कार्यक्रम र असार १० मा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदैछ ।

भट्टराईले भने, ‘कृषि र शिक्षालाई प्राथमिकता दिनुपर्छ ।सडकलाई प्राथमिकता दिनुपर्छ । मूलसडक बाहेक अन्य सडकलाई ग्राभेल गरे हुन्छ,  मूल सडकलाई कालोपत्रे गर्नेगरी बजेट छुट्ट्याउनु पर्छ ।´

जनताका काम छिटो छरितो गर्दा स्थानीय सरकारप्रति जनताको आशा भरोसा बढ्ने बताउँदै भट्टराईले आत्मविश्वास पूर्वक पालिका सञ्चालन गर्न पनि गाउँपालिका अध्यक्षलाई सुझाव दिए ।

सामुदायिक विद्यालयको गुणस्तर बढाउनु पर्नेमा पनि उनले जोड दिए । भट्टराईले संघीयता नभए लोकतन्त्र कमजोर हुने बताउँदै संघीयता बलियो बनाउनुपर्ने बताए । ‘संघीयता नभए लोकतन्त्र कमजोर हुन्छ । समावेशी लागू गर्न सकिन्न । त्यसैले संघीयतालाई बलियो बनाउनुपर्छ,’ उनले भने ।

डा. भट्टराईले जडिबुटी, सडक, शिक्षा, कृषिलाई ध्यान दिए अजिरकोट देश कै मोडेल गाउँपालिका बन्ने बताए । त्यसका निम्ति दृष्टिकोण मुख्य भएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाले भट्टराईले उठाएकै कोर्समा नेपाल अगाडि बढिरहेको बताए । उनले भने, ‘बाबुराम भट्टराईले उठाउनुभएको कोर्समा देश अगाडि बढिरहेको छ ।’

उनले स्थानीय तहलाई बलियो बनाउन सिंहदरबार अनुदार रहेको बताउँदै प्रदेशका कारण संघीयता धरापमा परेको बताए ।

स्थानीय तहले काम गर्न खोज्दा संघीय र प्रदेश कानुनले बाँधिएको अध्यक्ष देवकोटाले बताए ।

उनले भ्रष्टाचार अन्त्य गर्दै पालिकाले शिक्षा र स्वास्थ्यलाई ध्यान दिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily