+
Search

ताजा अपडेट +

पपुलर +

जाजरकोटको नलगाडका व्यवसायीलाई राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

4KNationalDaily
२०८० श्रावण २६, शुक्रबार १३:५१ बजे

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिका बिच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि नगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ।

सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत को कर्जा कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताए।

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पुग्ने बताए। कर्णाली प्रदेशका पूर्व मन्त्री गणेशप्रसाद सिंहले बैंकको सहुलियतपूर्ण कर्जाले जनताको जीवनस्तर उकास्ने बताए।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकले राज्यले अवलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय सृजना गरी आर्थिक विकासमा योगदान पुर्‍याइरहेको बताए।

उक्त कार्यक्रममा बैंकका उप कार्यकारी अधिकृतहरू विमल डङ्गोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरू सरोज बस्नेत, अच्युत गौतम तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily