+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकले भीआरएस ल्याउने

4KNationalDaily
२०८० श्रावण २७, शनिबार १०:३९ बजे

काठमाडौं– मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वैच्छिक अवकाश सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौती गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो ।

यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले फेरी भीआरएस ल्याउने तयारीमा रहेको बताए ।

साबिक नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभेपछि नबिल बैंकले तेस्रो पटक भीआरएस सुविधा जारी गर्ने तयारी थालेको हो । नबिल बैंकले साबिक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो ।

एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरू भीआरएसमा बाहिरिएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।

अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरिएका थिए । बाहिरिने कर्मचारीहरूमा अधिकांश एनबी बैंकका थिए ।

‘साबिक एनबी बैंकले भीआरएस ल्याएर गाभेको हो, एनबी बैंकलाई गाभेपछि पनि फेरी भिआरएस ल्याएका थियौँ, फेरी पनि नबिल बैंकले भीआरएसको तयारीमा छौँ,’ उनले भने, ‘यसअघि २ पटक भीआरएस जारी गर्दा ७० जना बाहिरिएका थिए, बाहिरिने सबै कर्मचारी एनबी बैंकका थिए ।’

तर, उनी नबिल बैंकमा ओभर स्टाफ नभएको बताउँछन् । एउटै पदमा दुई जना भएपछि एक जनालाई भीआरएस सुविधा दिएर बिदा गर्नु स्वाभाविक रहेको उनको भनाइ छ ।

‘भीआरएस सबै कर्मचारीलाई भन्दा पनि टप एक्जिक्यूटिभ अर्थात् सिनियर तहका कर्मचारीका लागि निकालिन्छ किनभने एउटै विभाग प्रमुखमा २ जना चाहिँदैन,’ उनले भने, ‘एचआर, आइटी, फाइनान्स लगायतको विभागमा २ जना हेड चाहिँदैन, त्यसैले भीआरएसको माध्यमबाट कर्मचारी निकाल्नु स्वाभाविक हो ।’

उनका अनुसार नबिल बैंकमा ओभर स्टाफ नभए पनि टप हेडिङमा काँटछाँट गर्ने तयारी गरिरहेको छ । नबिल बैंकमा हाल २ हजार ४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily