काठमाडौं- इङ्लिस प्रिमियर लिगमा न्युक्यासल, ब्राइटन, म्यानचेस्टर सिटीले विजय सुरुवात गरेका छन्।
शनिबार राति सेन्ट जेम्स पार्कमा सुरु सिजनको पहिलो खेलमा न्यु क्यासनलले एस्टोन भिल्लालाई ५–१ को फराकिलो अन्तरले हराउँदै प्रिमियर लिगमा सानदार सुरुवात गरेको हो।
घरेलु मैदानमा भएको खेलमा अलेक्जेन्ठर इसाकले दुई गोल तथा स्यान्ड्रो टोनाली, कोलम विल्सन र हार्व बार्नसले एक/एक गोल गरे। एस्टोन भिल्लाका लागि मुसा डायबीको गोल सान्त्वना बन्न पुग्यो।
खेलको छैटौं मिनेटमा एन्थोनी गोर्डनको क्रसलाई स्यान्ड्रो टोनालीले गोलमा परिणत गरेका थिए। ११औं मिनेटमा मुसाले गोल गर्दै एस्टोन भिल्ललाई बराबरीमा ल्याएका थिए।
खेलका १६औं र ५८औं मिनेटमा इसाकले गोल थपे। खेलको ७७औं मिनेटमा कोलम विल्सनले गोल गर्दै न्यु क्यासललाई ४–१ को अग्रता दिलाए। इन्ज्युरी समयमा बार्नसले गोल गर्दै टोलीलाई ५–१ को फराकिलो जित दर्ता गराए।
जितसँगै न्यु क्यासल अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित एस्टोन भिल्ला पुछारमा छ। गएराति नै भएको खेलमा ब्राइटनले लुटोनलाई ४–१ ले हराउँदै सानदार जितका साथ लिगमा सुखद सुरुवात गरेको छ।
गएरातिकै अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–० ले पाखा लगायो।
सिटीका लागि एर्लिङ हालान्डले दुई तथा रोड्रिले एक गोल गरे। गत सिजन सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेवल उपाधि जित्दा हालान्डले ५२ गोल गरेका थिए।
प्रिमियर लिगको नयाँ सिजनमा पनि हालान्डले चौथो मिनेटमा नै गोलको खाता खोलेका थिए।
खेलको इन्ज्युरी समयमा वर्नली १० खेलाडीमा समेटिएको थियो। बर्नलीका जरौरीले काइल वाकरलाई खराब ट्याकल गरेपछि भिएआरको सहायतामा उनलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाइएको थियो।
जितसँगै ब्राइटन दोस्रो र सिटी तेस्रो स्थानमा छ। पराजित वर्नली १९ र लुटोन १८ औं स्थानमा छन्।
प्रतिक्रिया