काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदले तीन तहको सरकारलाई सुचारु रूपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानुनहरू बनाउन नसकेको बताएका छन् ।
आइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघले आवश्यक कानुनहरू निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रूपमा आफ्ना काम, कारबाहीहरू अघि बढाउन सक्ने उल्लेख गरे ।
उनले पछिल्लो सयौँ युवाहरू देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरूलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए । सिंहले सरकार र सबै राजनीतिक दलहरूले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताए ।
उनले भने, ‘सरकारलाई सुचारु रूपमा सञ्चालन गर्न आवश्यक संघीय कानुनहरू जुन अभावको कारणले फुल फ्लेजिट रूपमा काम गर्न पाइरहेको छैन, त्यो गराउन हामीले संघीय विधेयक ल्याउनुपर्छ, ऐन बनाउनुपर्छ, शिक्षा ऐन बनाउनुपर्छ, तमाम यस्ता संघीय कानुन बनाइसकेपछि प्रान्तीय कानुन र स्थानीय सरकारले पनि आफ्ना कानुन बनाउन बाटो सुचारु रूपले जाने हुन्छ । लाखौँलाख संख्यामा युवाहरू कामको खोजीमा बिदेसिएका छन्, अहिले त यहाँ व्यवसाय गरेर खाइरहेका पनि विदेश जाँदै छन् । अहिले सरकारले सबै दलले ध्यान दिएर देशमै बसेर गरिखाने वातावरण नीति बनाइदिनुपर्छ । सबैलाई यहीँ काम गर्ने वातावरण बनाउनुपर्छ । कानुनको राज हुनुपर्छ ।’
कोसी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहु धार्मिक, बहु सांस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै सबैले बहु धार्मिक, बहु सांस्कृतिक, बहुभाषिक देश मानिसकेपछि कानुनभित्र बसेर सबैले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘संविधान बनाउँदा नै हामीले भनेका छौँ । यो बहु धार्मिक, बहु सांस्कृतिक, बहुभाषिक देश हो भनेर मानेका छौँ । त्यो मानिसकेपछि कानुनभित्र बसेर काम गर्नुपर्छ, त्यो बिथोलिए सरकारले समाधान गर्नुपर्छ । धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन । काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ, देशको धर्म हुँदैन तर व्यक्तिको आस्थाअनुसार हुन्छ । नेपाल सबैका लागि हो, सबै सहअस्तित्वमा सद्भाव गरेर अर्को धर्मलाई आँच नआउने गरी काम गर्नुपर्छ । सामाजिक सद्भावलाई खलबल गर्नु हुँदैन ।’
नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडीकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया