काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन्।
बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तर्क्रियामा अध्यक्ष ढकालले स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका हुन्।
ढकालले महासंघको आफू नेतृत्त्व आइसकेपछि निजी क्षेत्रले बलियो गरी आफ्ना कुरा अघि सारेको बताए।
‘सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो,’ उनले भने, ‘समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ। नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामक निकाय सबै एकै ठाउँमा आउनुको विकल्प छैन।’
पदबहाली गरेको चार महिनामै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, पूर्वप्रधानमन्त्री दलका प्रमुख सचेतक, सांसदलगायत सबैलाई आफूहरुले भेटेर अर्थतन्त्रको अवस्थाबारे स्मरण गराएको पनि उनले बताए।
पछिल्ला दिनमा व्यवसायीलाई परेका असहजताप्रति निजी क्षेत्रका तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए।
“अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन,’ उनले भने, ‘अहिले समस्या सबैको साझा हो सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन। अहिले आम जनताको विश्वास गुमेको अवस्था छ। त्यो सरकार र नेपाल राष्ट्र बैंकबाट दिइयो भने पहिलेकै लयमा आउन समस्या हुँदैन।’
प्रतिक्रिया