सिन्धुपाल्चोक– नेपाल–चीन उत्तरी सीमा तातोपानी नाका आजबाट मानिसहरूका लागि आवतजावत खुला भएको छ ।
साढे आठ वर्षपछि मानिस आवतजावतका लागि सुरु भएको हो । यससँगै तातोपानी लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएकाहरू आज चीन प्रवेश गरेका छन् ।
आज बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका बासिन्दाहरूका १ सय २८ पास जारी भएको छ भने कतिपय नेपाली नागरिक चिनियाँ भगको पुल बजारसम्म पुगेका छन् । चीन प्रवेश गरेका केही नेपालीहरूले भने फर्कँदा आवश्यक पर्ने घरायसी समान लिएर आएका छन् ।
शुक्रवार चीनतर्फ जान १ सय २८ जनाको पास जारी भएको अध्ययन कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा बस्ने नेपाली र चिनियाँ १ सय ८ जना नेपाल आएका छन् । त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपालतर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका छन् ।
०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबिचको सो नाका पूर्णरूपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठुलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सिमितरुपमा मात्रै सञ्चालन भएको नाका वि.सं.२०७६ फागुनमा विश्वव्यापीकरण कोरोना महामारी फैलिएपछि पुनः बन्द भएको थियो ।
नाका खुलेसगै सीमा क्षेत्रका स्थानीय र व्यवसायीमा खुसी छाएको छ । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुले लगत्तै नेपाल सरकारले नाका खोल्न कूटनैतिक पहल गर्दै आएको थियो । केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबिच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
नाका खुलेसगै सीमा क्षेत्रका स्थानीय र नाकाबाट व्यावसायिक गर्नेहरू खुसी भएका छन् । चिनियाँपक्षले आफ्नो भगको पुल बजारमा पसलहरू समेत सञ्चालन गरिसकेका छन् । नाका खुलेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले चिनियाँ पक्षले नेपाल जोड्नका लागि यो नाकालाई उच्च प्राथमिकता दिएकाले क्रमिक रूपमा पूर्ण रूपमा सञ्चालन हुने सन्देश दिए।
उनले पर्यटक भिसामा आउनेलाई ल्हासासम्मै जान दिने र स्थानीयलाई बिस्तारै खासा बजारसम्म जान दिने बताए। उनले खासामा व्यवसायीहरूलाई गोदाम राख्न नदिने, कारणले व्यापारीलाई सामान लोड गर्न जान नदिएका कारण व्यापारमा खासै ठुलो असर नपर्ने बताए।
त्यस्तै व्यवसायी दोर्जे लामाले स्थानीयलाई नाका खुलेपछि धेरै सहज हुने बताए । उनले अबबाट स्थानीयहरू जो कोही पनि नाकापारि गएर सामान किन्न पाउनुपर्ने बताए । उनले स्थानीयहरूलाई विशेष सुविधा दिनुपर्ने बताए ।
प्रतिक्रिया