काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ ।
प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा सहरका मुख्य चोकहरुमा ६७ वटा हाइमास्ट लाइट जडान गरेको हो। सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ खर्च भएको जनाइएको छ।
प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ।
यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ। प्राधिकरणले मठ मन्दिर र पर्यटकीय क्षेत्रहरुमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत् नपुगेको ठाउँको विद्युतीकरण र सहरी सौन्दर्य बढाउन स्थानीय तहहरुसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए।
‘घर-घरमा बिजुली बालेर मात्र नहुने रहेछ, सहरी सौन्दर्य तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनुपर्ने रहेछ। त्यसैले स्थानीय तहहरुको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो। अहिल देशभरका स्थानीय तहहरुबाट सडक बत्ती जडानको माग आइरहेको छ‚’ उनले भने।
विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्प, मध्य र दीर्घकालीन योजनासहित काम गरिरहेको उनले बताएका छन्।
प्रतिक्रिया