चितवन– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि अपराधी र तस्करहरू आफूहरूलाई हटाउन लागि परेको दाबी गरेका छन् ।
सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धनमा असन्तुष्टि बढेर गृहमन्त्री फेर्ने प्रयास भइरहेको चर्चा आइरहेको बेलामा उनले यस्तो बताएका हुन् ।
चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘भ्रष्टाचार संलग्न हुनेहरूले एउटाबाट अर्को रूपमा सरकारको अभियानमा असफल पार्ने र यो अभियान सञ्चालन गर्नेहरूलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पारेर मूल पात्रहरुलाई हटाउन खोज्दैछन् ।’
६० किलो सुन समातेपछि त्यसलाई आधार बनाएर तस्करीको जरैसम्म पुग्ने त्यसको सारा नेटवर्कको पहिचान गरेर कानूनी कारबाही गर्ने प्रक्रियामा अहिले प्रहरी र सिआइबी अनुसन्धानरत रहेको बताए ।
उनले भने, ‘हामीलाई विश्वास छ केही दिनभित्रै त्यो अनुसन्धान निष्कर्षमा पुग्नेछ । सबै तस्कर र अपराधीहरूलाई कानूनको कठघरमा उभ्याइनेछ ।’
उनले यो सरकार र गृहमन्त्री टिक्ने दाबी गर्दै भ्रष्टाचारी र तस्करीसँग कुनै सम्झौता नगरी आफ्नो अभियानलाई अगाडि बढाउने सुनाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणलाई पनि चाँडै निष्कर्षमा पुर्याउने बताए ।
प्रतिक्रिया