काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दाको पेसी आज तोकिएको छ ।
यसअघि न्यायाधीश नभएका कारण असोज १ गते स्थगित भएको थियो । पटक पटक पेसी तोकिँदै आए पनि फैसला नभई सर्दै आएको छ।
असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले गौशाला २६को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो ।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।
जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए।
यद्यपि विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए।
चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन (आज) नै आफूविरुद्ध मुद्दाको पेसी परेकाले क्रिकेटर सन्दीप लामिछाने सँगै जान नपाउने भएका छन्।
मुद्दा सुनुवाइ हुने/नहुने टुंगो लागेपछि मात्रै सन्दीप चीन जाने वा नजाने निर्णय हुने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।
प्रतिक्रिया