+
Search

ताजा अपडेट +

पपुलर +

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययन गर्न मलेसियाली कम्पनीसँग सम्झौता

4KNationalDaily
२०८० आश्विन १२, शुक्रबार ०८:३५ बजे

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्रालिबीच सम्झौता भएको छ।

लगानी बोर्डको कार्यालयमा आज सम्पन्न सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदी अब्देलालीले हस्ताक्षर गरे। रि–निकोला मलेसियाको कम्पनी हो।

लगानी बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रिन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्न सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको हो।

सम्झौताअनुसार रि–निकोलाले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेस गर्नुपर्ने छ।

तनहुँ आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधि प्रयोग गरी ग्रिन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ।

करिब २६ करोड अमेरिकी डलर अनुमानित लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६ सय टन ग्रिन एमोनिया र २ लाख ८६ हजार ९ सय ७५ टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने प्रस्ताव गरिएको छ।

सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रि–निकोलाले ऊर्जाका रूपमा विद्युत् शक्ति उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्न २०७९ पुस २४ मा लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो।

उक्त प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० मा बसेको ५३औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो भने रि–निकोलासँग हुने समझदारी पत्रको मस्यौदा गत भदौ ८ मा बसेको लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily