+
Search

ताजा अपडेट +

पपुलर +

निष्क्रिय कर्जा बढ्दा ग्लोबल आइएमई बैंकको नाफा दबाबमा

4KNationalDaily
२०८० कार्तिक १८, शनिबार ११:५८ बजे

काठमाडौं– कर्जा असुलीमा समस्या हुँदा सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजन बढेसँगै ग्लोबल आईएमई बैंकको नाफा प्रभावित भएको छ ।

गत आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डुलाई गाभेर एकीकृत कारोबार सुरु भएको थियो । तर, गत आर्थिक वर्षको प्रथम त्रैमासमा छुट्टाछुट्टै कारोबार गरिरहेका यी दुई बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एकीकृत वित्तीय विवरण हुँदा पनि नाफा भने सामान्य मात्रै वृद्धि देखिएको छ ।

मर्जरको प्रोत्साहनको लागि स्प्रेड दर केही माथि हुँदा खुद ब्याज आम्दानीमा वृद्धि देखिए पनि निष्क्रिय कर्जामा भएको उच्च वृद्धिले सम्भावित कर्जा नोक्सानीको प्रोभिजनमा उच्च वृद्धि भएको छ, जसले बैंकको नाफा प्रभावित देखिएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । जुन गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डुसँग मर्जर अगाडि कमाएको नाफाभन्दा ३.०५ प्रतिशतले मात्रै बढी हो ।

गत आर्थिक वर्षको प्रथम बैंक अफ काठमाण्डुले पनि २८ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस आधारमा बैंकको मुनाफा घटेको हो ।

नेपाल राष्ट्र बैंकले मर्जरमा गएको बैंकलाई एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप एक प्रतिशत स्प्रेड दर कायम गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेको अधिकत ४ प्रतिशतको सीमा भन्दा माथि ४.३४ प्रतिशत छ । सोही कारण बैंकको खुद ब्याज आम्दानी पनि बढेर ४ अर्ब ८० करोड पुगेको छ ।

गत आर्थिक वर्ष मर्जर अगाडि बैंकले प्रथम त्रैमासमा ३ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानी ४९.४९ प्रतिशले बढेको छ । तर, मर्जर अगाडि प्रथम त्रैमासमा बैंक अफ काठमाण्डुले पनि करिब १ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily