काठमाडौं– राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्ने, मर्मत सम्भार गर्नु पर्ने काममा काठमाडौं महानगरपालिकाले सहयोग गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।
आज (शुक्रबार) कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएका (करिब १३० वर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए ।
‘सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुल्ला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । त्रिपुरेश्वरमा खुल्ला र जीवन्त संग्रहालय निर्माण गर्न थालेका छौँ । त्यहाँ परम्परागत र कलात्मक सिपसँग सम्बन्धित क्रियाकलाप हुनेछन् । यसबाट संस्कृति बचाउन र कला जोगाउन मद्दत पुग्नेछ । सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौँ’, शाहले बताए ।
यो क्षेत्रमा शैक्षिक र बौद्धिक क्रियाकलाप सञ्चालन गर्न समकी भाञ्जी (घर जग्गाको स्वामित्ववाला) डिलाइट सिंहले २०७५ साल काठमाडौँ विश्वविद्यालय बालकृष्ण सम शैक्षिक गुठीलाई जमिन र भवन प्रदान गरे । यसको तल्लो तलामा सिंह आफैँ बसोबास गर्छन् ।
उनले भेटका क्रममा भने, ‘मेरी आमा पनि एउटै सन्तान हुनुहुन्थ्यो । म पनि एउटै सन्तान हुँ । पुर्खाबाट आएको सम्पत्तिको आधा भाग आमाले पाउनु भयो । आधा भाग घरमा काम गर्ने सहयोगीलाई दिइएको थियो । जमिन टुक्रा पार्दा मौलिकता संरक्षणमा कठिन हुने भएपछि २ करोड रुपैयाँ तिरेर उहाँलाई दिएको भाग पनि मैले नै लिएँ । त्यसपछि गुठीलाई दिएकी हुँ ।’
कुराकानीका क्रममा उनले, समले स्थापना गरेका फोटो स्टुडियो, उनले कोरेका चित्र यही भवनमा रहेको बताए । १९९० सालको भूकम्प अघि भवन ४ तलाको थियो । माथिल्लो तलामा बार्दली थियो ।
त्यसलाई पुननिर्माण गरेर पूर्ववत बनाउँदा भन्दा माथिल्लो तला घटाउँदा बलियो हुने प्राविधिकबाट सुझाव प्राप्त भएपछि माथिल्लो तला घटाएर ३ तलाको बनाइएको हो । सिंहले जानकारी दिए ।
२ रोपनी २ आना क्षेत्रफलमा २ वटा भवन छन् । पछिल्लो भवन काठमाडौँ विश्वविद्यालयले सवलीकरण गरेर सञ्चालनमा ल्याएको छ । प्रवेश गर्ने वित्तिकैको भवन सवलीकरण गर्नुपर्ने अवस्थामा छ । यसका लागि विश्वविद्यालयले प्रारम्भिक डिजाइन र लागत अनुमान तयार पारेको छ ।
संरक्षणका विषयमा विश्वविद्यालयका उपकुलपति भोला थापाले भने, ‘यस ठाउँलाई वौद्धिक बहस गर्ने, विशेषज्ञ तालिम दिने, संगीत र कलाको प्रशिक्षण प्रदान गर्ने, यस्ता विधामा अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ ।’
उनीहरुले तयार पारेको योजना अध्ययन गर्दै प्रमुख शाहले यस शैक्षिक गुठीको गुठीयारका रुपमा महानगरपालिका आवद्ध भएर संरक्षणको काम गर्ने बताए । विश्वविद्यालयले तयार पारेको योजना पुनरावलोकनका लागि उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई योजना प्रदान गरेका छन् ।
प्रमुख शाहसँग सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी, सल्लाहकार कुमार व्यञ्जनकार, आयोगका सदस्य बाबुराम भट्टराई, सुरज काफ्ले, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु सहभागी थिए ।
प्रतिक्रिया