गोरखा– धार्चे गाउँपालिका-१, हुल्चुककाे एक घरमा आगलागी भएकाे छ । शनिबार राति घरमा लागेको आगलागीमा परेर आमाछोराको मृत्यु भएको हाे ।
उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए । उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिंको मृत्यु भएको हो । छोरा चनारसिंङ अपाङ्गता थिए ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए । ‘घरभित्र सल्लाको काठ थियो । कसरी जल्यो भन्ने थाहा छैन,’ उनले भने, ‘राती आगो लागेछ । अहिले प्रहरीहरु आइरहेका छन् ।’
घर पूर्ण रुपमा जलेर सकिएको छ । जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ ।
उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ ।
इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक नरबहादुर साउदसहित टोली पुगेर घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया