+
Search

ताजा अपडेट +

पपुलर +

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

4KNationalDaily
२०८० मंसिर १, शुक्रबार ०९:५७ बजे

काठमाडौं– फिफा विश्वकप २०२६ एएफसी छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल संयुक्त अरब ईमिरेट्स (युएई)सँग पराजित भएको छ । यूएईले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल ४-० ले स्तब्ध भएको हो।

घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले २ गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे।

खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो। चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा अमृत श्रेष्ठलाई मौका दिइएको थियो। तर उनले राम्रो खेल पस्किन सकेनन्। १८औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए। उनको स्थानमा पनि योगेश गुरुङले अवसर पाएका थिए।

दोस्रो हाफमा नेपालले दबाब खेपे पनि गोल भने खाएन। पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केही अवसर पनि सिर्जना गरेको थियो। तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो।

यूएईले १०औं मिनेटमा नै पहिलो गोल गर्दै नेपालविरुद्ध अग्रता लिएको थियो। अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडरमार्फत् गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए।

३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रस बारमा लागेर फर्कियो। ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्‍यो। अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो।

युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए।

४४औं मिनेटमा मखबूटले अर्को गोल थपे। जाएद अल-जाबिको हेडर पासमा मखबूटले हेडरमार्फत् नै गोल गरे। फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे। बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए।

दोस्रो चरणको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेल यमनसँग खेल्दैछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा मंसिर ५ गते हुनेछ।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणमा नेपालले ३ वटै टिमसँग २–२ वटा होम र अवे गरी ६ खेल खेल्नेछ।

विश्वकप २०२६ एएफसी छनोटका लागि नेपाल रहेको समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन्। फिफा वरीयतामा यूएई ६९औं स्थानमा छ। बहराइन ८३औं तथा यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily